काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमा ‘आयो गोर्खाली’ लेखेपछि राजनीतिक तथा प्रशासनिक वृत्तमा त्यसको सन्देश र सन्दर्भबारे चर्चा तीव्र बनेको छ ।
सरकारले जेन जेड आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै सम्बन्धित व्यक्तिविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको हो । सोही क्रममा पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको सुरक्षा स्रोतहरूले जनाएका छन् ।
यसैबीच, पूर्व प्रधानमन्त्री ओलीलाई नियन्त्रणमा लिन प्रहरी टोली उनको निवासमा पुगेको बताइएको छ । यद्यपि, पक्राउसम्बन्धी औपचारिक पुष्टि भने सार्वजनिक भएको छैन ।
गृहमन्त्री गुरुङको ‘आयो गोर्खाली’ टिप्पणीलाई कतिपयले कानुनी प्रक्रिया अघि बढाइएको सङ्केतका रूपमा व्याख्या गरेका छन् भने केहीले यसलाई राजनीतिक सन्देशका रूपमा पनि हेरेका छन् ।
जाँचबुझ आयोगले उक्त घटनामा तत्कालीन राजनीतिक तथा सुरक्षा नेतृत्वमाथि अनुसन्धान अघि बढाउन सिफारिस गरेको थियो । सरकारका अनुसार सोही सिफारिस कार्यान्वयनका क्रममा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको हो ।







