काठमाडौँ । एक वाणिज्य बैंकमा कार्यरत कर्मचारीमाथि ग्राहकको खाताबाट अनधिकृत रूपमा रकम निकालिएको आरोप लागेपछि प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको गाईघाट शाखामा कार्यरत कर्मचारी सुनिता बानियाँलाई प्रहरीले पक्राउ गरेको हो । इन्स्पेक्टर विष्णु खड्काका अनुसार बैंकको उजुरीको आधारमा बानियाँलाई पक्राउ गरिएको हो । उनले भने, ‘उनलाई पक्राउ गर्नका लागि बैंकले नै उजुरी दिएको थियो । त्यही उजुरीका आधारमा बानियाँलाई पक्राउ गरिएको हो, थप अनुसन्धान हुँदै छ।’
पक्राउ परेकी बानिया उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ५ की स्थानीय हुन् । बैंकको गाईघाट शाखामा कार्यरत बानियाँले ग्राहकको पैसा हिनामिना गरेको आरोप छ । प्रहरीले उनीसँग प्रारम्भिक बयान समेत लिइसकेको छ ।







