काठमाडौँ । बडिमालिका नगरपालिकाले सामुदायिक विद्यालयमा लागू गरिएको साप्ताहिक दुई दिने बिदा (शनिबार र आइतबार) सम्बन्धी व्यवस्थाबारे स्पष्ट नीतिगत मार्गदर्शन माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई औपचारिक पत्र पठाएको छ ।
नगर प्रमुख अमर खड्काको हस्ताक्षरमा पठाइएको पत्रमा हालको बिदा संरचनाका कारण शैक्षिक क्यालेन्डर कार्यान्वयन तथा कानुनी रूपमा तोकिएको न्यूनतम शैक्षिक दिन पूरा गर्न कठिनाइ उत्पन्न भएको उल्लेख गरिएको छ ।
शिक्षा नियमावली २०५९अनुसार एक शैक्षिक सत्रमा कम्तीमा २२० दिन पठनपाठन सञ्चालन हुनुपर्ने व्यवस्था भए पनि चाडपर्व, प्रशासनिक बिदा तथा साप्ताहिक बिदा जोडिँदा वास्तविक शिक्षण समय घटिरहेको नगरपालिकाको भनाइ छ ।
नगरपालिकाका अनुसार यस अवस्थाले शैक्षिक गुणस्तर, सिकाइ उपलब्धि तथा विद्यार्थीको निरन्तर अध्ययन प्रक्रियामा प्रत्यक्ष प्रभाव पारिरहेको छ । प्रधानाध्यापकहरूको परामर्श, शिक्षा समितिको सिफारिस र कार्यपालिका बैठकबाट समेत स्थानीय भौगोलिक अवस्था तथा सिकाइ वातावरणलाई ध्यानमा राख्दै बिदा व्यवस्थामा पुनरावलोकन आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।
पत्रमा दुई दिने साप्ताहिक बिदा कायम रहँदा २२० शैक्षिक दिन पूरा गर्न चुनौती देखिएको, पाठ्यक्रम समयमै सम्पन्न गर्न कठिनाइ भएको, विद्यार्थीको नियमित उपस्थितिमा असर परेको तथा निजी विद्यालयतर्फ विद्यार्थी आकर्षित हुने सम्भावना बढेको उल्लेख छ । साथै ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थी घरायसी तथा कृषि कार्यमा संलग्न हुँदा अध्ययन प्रभावित हुने जोखिम पनि औँल्याइएको छ ।
नगरपालिकाले स्थानीय आवश्यकता अनुसार हप्तामा एक दिन (शनिबार) मात्र बिदा कायम गर्दा शैक्षिक दृष्टिले बढी प्रभावकारी हुने धारणा राख्दै बिदा व्यवस्थापनमा नीतिगत स्पष्टता, आवश्यक संशोधन तथा स्थानीय तहअनुसार लचिलो कार्यान्वयन निर्देशिका जारी गर्न मन्त्रालयसँग आग्रह गरेको छ ।








