काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको नेतृत्व चयन प्रक्रिया सुरु भए पनि आजको बैठकबाट निष्कर्षमा पुग्न सकिएको छैन। दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा नेताको चयनबारे प्रारम्भिक छलफल गरिएको हो।
निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार बैठकमा दलको नेताबारे विभिन्न धारणा प्रस्तुत भए पनि सहमति जुट्न सकेन। अब सहमति कायम गर्ने प्रयास स्वरूप भोलि पार्टी नेतृत्वसहित पुनः छलफल गरिने तयारी गरिएको छ।
दलको नेताका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख दाबेदारका रूपमा देखिएका छन्। साथै अन्य केही नेताहरूको नाम पनि चर्चामा रहेको छ। प्रतिनिधि सभामा काँग्रेसका कुल ३८ सांसद रहेका छन्।
बैठकका क्रममा अधिकांश सांसदहरूले आफ्नो धारणा राखेका थिए। प्राप्त जानकारीअनुसार ३८ मध्ये २६ जना सांसदले विचार व्यक्त गरेका थिए।
पार्टीभित्र सहमतिमार्फत नेतृत्व चयन गर्ने प्रयास जारी रहेको र सहमति नजुटे निर्वाचन प्रक्रियाबाटै निर्णयमा पुग्ने विकल्प खुला राखिएको काँग्रेसले जनाएको छ।







