काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता व्यवस्थापनलाई डिजिटल प्रणालीमार्फत अद्यावधिक गर्ने अभियानलाई सफल बनाउन बागमती प्रदेशका नेता तथा कार्यकर्तालाई सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्।
सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित जिल्ला सभापति, केन्द्रीय सदस्य तथा ‘जरा अभियान’ अन्तर्गत खटाइएका प्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रममा उनले सदस्यता व्यवस्थापनलाई आधुनिक प्रविधिसँग जोडेर व्यवस्थित बनाउन लागिएको स्पष्ट पारेका छन्।
उनका अनुसार एक पटक डिजिटल अभिलेख तयार भएपछि आगामी नवीकरण प्रक्रिया सहज हुने भएकाले प्रारम्भिक चरणमा सबै तहबाट आवश्यक सहयोग अपेक्षित छ। उनले क्रियाशील सदस्यता प्रणाली परिमार्जन हुँदै गर्दा पुरानो अभिलेख खारेज नभई अद्यावधिक मात्र हुने भएकाले भ्रममा नपर्न आग्रह गरेका छन्।
महामन्त्री पौडेलले निर्वाचन प्रचारदेखि पार्टीका आन्तरिक गतिविधिसम्म डिजिटल माध्यमको प्रयोग बढ्दै गएको उल्लेख गर्दै सर्कुलर सम्प्रेषण, सदस्यहरूको राय संकलन र संगठनात्मक जानकारी प्रवाहमा प्रविधिको उपयोग विस्तार गरिने बताए।
उनका अनुसार सदस्यहरूबाट प्राप्त सुझाव तथा सहभागिताका आधारमा क्षमताको अभिलेख (रोस्टर)तयार गर्ने योजना पनि डिजिटल प्रणालीमार्फत अघि बढाइनेछ, जसले संगठनात्मक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
सदस्यता नवीकरण तथा अद्यावधिकका लागि वडास्तरमै प्रक्रिया सञ्चालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिँदै उनले सम्बन्धित सदस्यलाई आफ्नो टोल र वडामै सम्पर्कमा आएर प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरिएको बताए। विशेष परिस्थितिमा वडामा उपस्थित हुन नसक्ने अवस्थाबारे भने छलफलमार्फत समाधान खोजिने उनले स्पष्ट पारे।
पार्टीले जिल्ला सभापतिमार्फत सबै वडामा सदस्यता फारम पठाउने तयारी गरेको छ। वडा सभापतिको प्रमाणीकरणपछि अभिलेख इन्ट्री गरिने व्यवस्था लागू हुने जनाइएको छ।
नवीकरण नगरेका सदस्यले नयाँ फारम भर्न सक्ने भए पनि अद्यावधिक प्रक्रिया पूरा नगरेसम्म आगामी महाधिवेशनसँग सम्बन्धित गतिविधिमा सहभागी हुन नपाउने व्यवस्था रहने बताइएको छ।







