काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा विभागकै उपमहानिर्देशक एवं सहसचिव निर्मल ढकाल नियुक्त भएका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार रिक्त रहेको महानिर्देशक पदमा सोही विभागका उपमहानिर्देशक ढकाललाई नियुक्त गरेका हुन् ।
तत्कालीन महानिर्देशक गजेन्द्रकुमार ठाकुरलाई बिचौलिया दीपक भट्टको कम्पनीमा आफ्नै श्रीमतीको नाममा सेयर रहेको खुलासापछि चर्को विरोध भएको थियो । सोही विवादपछि उनलाई मन्त्रालय तानिएको थियो ।
पछिल्लो समय उक्त विभाग सरकारको नियमित कार्यसम्पादनभन्दा निश्चित नेता तथा व्यवसायीसँगको मिलेमतोमा काम गर्ने निकायका रूपमा आलोचित हुँदै आएको छ । कर्मचारीहरूलाई दबाबमा राखेर अवैध रूपमा आम्दानी गर्ने माध्यमका रूपमा प्रयोग भएको आरोपसमेत लाग्दै आएको छ ।
प्रशासन विशेष स्रोतका अनुसार विगत केही वर्षयता नेतृत्व तहदेखि केही कोर कर्मचारीहरूले समेत अस्वाभाविक रूपमा सम्पत्ति आर्जन गरेको दाबी गरिँदै आएको छ । यस विषयमा थप छानबिन हुनुपर्ने माग कर्मचारी वृत्तभित्रैबाट उठ्दै आएको छ ।







