काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणसँग सम्बन्धित सिद्धान्त र प्राथमिकता बिहीबार संघीय संसद्मा पेश गर्ने तयारी गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ समितिको बैठकमा उक्त जानकारी दिएका हुन्। उनका अनुसार संसद् सदस्यहरूबाट प्राप्त सुझावलाई बजेट निर्माण प्रक्रियामा समेट्ने गरी अर्थ मन्त्रालयले काम अघि बढाउनेछ।
बैठकमा मन्त्री डा. वाग्लेले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमका धेरै विषय राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्रसँग मेल खाने उल्लेख गरे। साथै, बजेटसम्बन्धी विभिन्न माग राख्दै सांसदहरू अर्थ मन्त्रालय पुग्ने क्रम अझै जारी रहेको पनि उनले बताए।
उनले नयाँ सरकार गठन हुनुअघि नै मन्त्रालयगत खर्च सीमा निर्धारण (सिलिङ) पठाइसकिएको उल्लेख गर्दै हाल बजेट व्यवस्थापनका लागि अतिरिक्त वित्तीय ‘स्पेस’ सीमित रहेको धारणा राखेका छन्।
प्रचलित कानुनी व्यवस्था अनुसार वार्षिक बजेट सार्वजनिक गर्नुभन्दा कम्तीमा १५ दिनअघि बजेटका सिद्धान्त तथा प्राथमिकता संसद्मा प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ।







