काठमाडौँ । सरकारले संविधान संशोधनसम्बन्धी बहसलाई अघि बढाउने क्रममा जेन जेड आन्दोलनका प्रतिनिधिहरूसँग प्रत्यक्ष छलफल गर्ने तयारी गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत गठन गरिएको “संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल-२०८२” ले जेन जेड आन्दोलनका २० जना प्रतिनिधिलाई औपचारिक छलफलका लागि आमन्त्रण गरेको हो।
कार्यदलका संयोजक तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा आगामी शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित सगरमाथा हलमा छलफल कार्यक्रम आयोजना गरिएको जनाइएको छ। कार्यक्रम दिउँसो ३ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने सचिवालयले उल्लेख गरेको छ।
सचिवालयद्वारा जारी सूचनामा संविधान संशोधनसम्बन्धी धारणा, सुझाव तथा बहसका विषय संकलन गर्न जेन जेड आन्दोलनसँग संवाद गर्न लागिएको जानकारी दिइएको छ।
छलफलमा सहभागी वक्ताहरूलाई आफ्नो धारणा राख्न तीन-तीन मिनेटको समय निर्धारण गरिएको छ। सहभागीहरूले लिखित सुझावसमेत पेस गर्न सक्ने व्यवस्था गरिएको सचिवालयले जनाएको छ।
कार्यक्रमका लागि रक्षा बम, उपार्जुन चाम्लिङ, तनुजा पाण्डे, माजित अन्सारी, अर्पित चौधरी, रिजन रामामगर, अमृता बम, युगन राजभण्डारी, प्रभाष बस्नेत, पेमा वाङ्बु, टंक जैसी, यादव अर्याल, यतिस ओझा, जनक पोखरेल, आयुष बराल, सुदीप सेठ, अरुण सिंह नेपाली, विप्लवी न्यौपाने, साकेन राई र मोनिका निरौलासहित २० जना प्रतिनिधिलाई बोलाइएको छ।







