काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहमा कार्यरत शिक्षा सेवाका अधिकृत स्तरका कर्मचारीहरूका लागि पाँच दिने क्षमता अभिवृद्धिसम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ।
चालु आर्थिक वर्ष २०८२-८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन हुन लागेको उक्त तालिम भक्तपुरको सानोठिमीस्थित केन्द्रको तालिम हलमा आयोजना गरिने जनाइएको छ।
केन्द्रका अनुसार तालिम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरण जेष्ठ १८ गतेदेखि महिला कर्मचारीहरूका लागि मात्र सञ्चालन गरिनेछ भने दोस्रो चरण जेष्ठ २५ गतेदेखि सबै कर्मचारीहरूका लागि आयोजना गरिनेछ।
तालिममा सहभागी हुन इच्छुक कर्मचारीहरूले केन्द्रअन्तर्गत शैक्षिक व्यवस्थापन तालिम शाखाको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। आवेदन जेष्ठ ८ गते शुक्रबार कार्यालय समयभित्र पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।
केन्द्रले यसअघि तालिमको अवसर नपाएका कर्मचारी, ज्येष्ठता तथा दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई प्राथमिकतामा राखेर छनोट गरिने जनाएको छ। प्राप्त आवेदनमध्ये छनोटमा परेका सहभागीलाई मात्र तालिमसम्बन्धी जानकारी उपलब्ध गराइने व्यवस्था गरिएको छ।
तालिमसम्बन्धी थप जानकारीका लागि शाखा अधिकृत नगेन्द्रप्रसाद दाहालसँग सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।








