काठमाडौँ । गृह मन्त्रालयले हालै मन्त्रालयमा सरुवा गरिएका दुई सहसचिवलाई रिक्त निकायमा पदस्थापन गरेको छ । मन्त्रालयले सहसचिव प्रदीप कोइरालालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सहसचिव कृष्ण पौडेललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकमा सरुवा तथा पदस्थापन गरेको हो ।
सरकारले सोमबार मात्रै २९ जना सहसचिवको सरुवा गरेको थियो । सो सरुवाअन्तर्गत कृषि, वन तथा पर्यावरण मन्त्रालयमा कार्यरत सहसचिव कोइराला र रक्षा मन्त्रालयमा कार्यरत सहसचिव पौडेललाई गृह मन्त्रालयमा सरुवा गरिएको थियो ।
गृह मन्त्रालयमा सरुवा भएपछि मन्त्रालयले रिक्त रहेका दुई निकायमा उनीहरूलाई जिम्मेवारी दिएको हो । यसअनुसार कोइरालाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्व सम्हाल्नेछन् भने पौडेल राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकका रूपमा पदस्थापन भएका छन् ।







