काठमाडौँ । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि फिर्ता गर्न माग गर्दै भारतीय दूतावास अगाडि प्रदर्शन गर्न पुगेका राष्ट्रिय जेन्जी नागरिक अभियानका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अभियानका सदस्यहरूले मंगलबार लैनचौरस्थित भारतीय दूतावास अगाडि पुगेर नेपालको नक्सामा समावेश गरिएका कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेका थिए । सो क्रममा दूतावासको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो ।
प्रदर्शनकारीहरूले उक्त क्षेत्र नेपालको अभिन्न भूभाग रहेको दाबी गर्दै नाराबाजी गरेका थिए ।
नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो भूभागका रूपमा दाबी गर्दै आएको छ । २०७७ सालमा नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी भएपछि उक्त विषय नेपाल–भारत सम्बन्धको प्रमुख एजेन्डामध्ये एक बनेको छ । नेपाल र भारतबीच सीमा विवाद समाधानका लागि विभिन्न तहमा संवाद हुँदै आए पनि विवादित क्षेत्रको विषय अझै टुंगो लाग्न सकेको छैन ।







