काठमाडौँ । उच्च अदालत सुर्खेतका रजिष्ट्रार सहसचिव केदार कोइरालाको पदस्थापन भएको करिब तीन महिनामै सरुवा गरिएको छ।
२०८२ फागुन २५ गते उच्च अदालत सुर्खेतमा सरुवा भई आएका कोइरालालाई २०८३ जेठ २० गते उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा सरुवा गरिएको हो।
सहसचिवस्तरका कर्मचारीलाई सामान्यतया: कम्तीमा एक वर्षसम्म एउटै कार्यस्थलमा राख्ने अभ्यास रहे पनि कोइरालाको सरुवा भने छोटो अवधिमै भएको छ। उच्च अदालत सुर्खेतमा रजिष्ट्रारको कार्यकाल प्राय: एक वर्षदेखि साढे दुई वर्षसम्म रहने गरेको देखिन्छ।
यसअघि पनि उच्च अदालत सुर्खेतका रजिष्ट्रार जगदीशप्रसाद भट्टको चार महिनामै सरुवा भएको थियो। उनी २०८० असोज २२ गते सुर्खेत आएका थिए भने २०८० माघ ७ गते पुन: सरुवा भएका थिए।
कोइराला प्रशासनिक क्षेत्रमा स्पष्ट कार्यशैली र इमान्दार कर्मचारीका रूपमा परिचित छन्। उनले हालै उच्च अदालत नियमावली, २०७३ मा रहेको एक व्यवस्थाको प्रभावकारी कार्यान्वयन गराएका थिए।
उच्च अदालत नियमावली नियमावलीको नियम ८६ को उपनियम (७) अनुसार पेशी स्थगनका लागि दिइने दरखास्त मुद्दा पेश भएको दिन इजलास बस्नुअघि नै दर्ता गरी मिसिलमा संलग्न गरिएको हुनुपर्ने व्यवस्था छ। तर विगतमा भने इजलासमै उपस्थित भएर पेशी स्थगनको निवेदन दिने अभ्यास कायम रहँदै आएको थियो ।
कोइरालाले उक्त कानुनी व्यवस्थालाई कार्यान्वयनमा ल्याउँदै पेशी स्थगनसम्बन्धी निवेदन इजलास बस्नुअघि नै दर्ता गरी मिसिलमा संलग्न गर्नुपर्ने व्यवस्था लागू गरेका थिए। न्यायालयमा यसलाई नियमावलीको प्रभावकारी कार्यान्वयनका रूपमा हेरिएको छ ।







