काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटले आर्थिक सुधारतर्फ सकारात्मक दिशा लिएको बताएका छन्।
महासंघले सोमबार आयोजना गरेको नीति संवाद कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले लगानीमैत्री वातावरण निर्माण, उत्पादन वृद्धि र स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यतर्फ बजेट अग्रसर देखिएको बताए।
उनका अनुसार लामो समयदेखि नेपाली अर्थतन्त्र संरक्षणमुखी प्रवृत्ति, अनौपचारिक कारोबार र प्रशासनिक जटिलतामा सीमित रहँदै आएको थियो। तर, यस पटकको बजेटले त्यस्तो संरचनात्मक समस्याबाट बाहिर निस्कने प्रयास गरेको उनले टिप्पणी गरे।
श्रेष्ठले बजेट कार्यान्वयनको पक्ष भने महत्वपूर्ण रहने उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमा नै वास्तविक परिणाम निर्भर रहने बताए। उनले अहिलेको अर्थतन्त्रमा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अधिक रहेको र ब्याजदर ऐतिहासिक रूपमा न्यून बिन्दुमा पुगेको अवस्थामा समेत निजी लगानी अपेक्षाकृत कमजोर देखिएको उल्लेख गरे।
कर्जा प्रवाह अपेक्षाकृत नबढ्नु, माग पक्ष कमजोर रहनु र निजी क्षेत्रको लगानी सुस्त रहनु वर्तमान आर्थिक चुनौतीका रूपमा रहेको उनको भनाइ छ। यस्तो अवस्थाबीच आएको बजेटले अर्थतन्त्रमा विश्वास पुन:स्थापित गर्ने अपेक्षा गरिएको उनले बताए।
अध्यक्ष श्रेष्ठले बजेटलाई परम्परागत खर्च केन्द्रित ढाँचाबाट माथि उठेर नीतिगत तथा संरचनागत सुधारतर्फ केन्द्रित दस्ताबेजका रूपमा व्याख्या गरे। उनका अनुसार महासंघले यस दिशालाई सकारात्मक रूपमा लिएको छ।
उनले नीतिगत सुधारमा सरकारको पछिल्लो पहललाई साहसिक कदमका रूपमा मूल्यांकन गर्दै कानुनी संरचनामा देखिएका पुराना र एक अर्कासँग बाझिने प्रावधानहरू नै निजी क्षेत्रको मुख्य चुनौती रहेको बताए। उनले दीर्घ समयदेखि महासंघले कानुनी जटिलता नै मुख्य समस्या रहेको भन्दै आएको स्मरण गराए।
यसै सन्दर्भमा सरकारले १५ वटा कानुन खारेज वा संशोधनका लागि विधेयक अघि बढाउने, उधारो असुलीसम्बन्धी कानुन, बौद्धिक सम्पत्ति संरक्षण कानुन तथा सनसेट कानुन ल्याउने प्रतिबद्धता महत्वपूर्ण रहेको पनि उनले उल्लेख गरे।







