काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं प्रतिनिधि सभा सदस्य कवीन्द्र बुर्लाकोटीले आफ्नो पछिल्लो अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक गरेका छन् । उनले आफूले सरकारी नियुक्ति वा विश्वविद्यालयको पदाधिकारी चयन प्रक्रियासँग जोडेर कुनै धारणा नराखेको बताएका हुन् ।
संसद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बुर्लाकोटीले आफ्नो भनाइ पार्टीको आन्तरिक उम्मेदवार छनोट तथा टिकट वितरण प्रणालीसँग सम्बन्धित रहेको स्पष्ट पारे । उनले पार्टी निर्माणमा सक्रिय योगदान दिएका कार्यकर्तालाई चुनावी टिकट दिने क्रममा प्राथमिकता दिने विषयमा आफूले उल्लेख गरेको बताए ।
यसअघि विश्वविद्यालयको उपकुलपति छनोटका लागि सरकारले अघि सारेको योग्यता र प्रतिस्पर्धामा आधारित प्रणालीभन्दा फरक ढंगले रास्वपाले मापदण्ड बनाउने आशय राखेको भन्दै उनको भनाइको आलोचना भएको थियो । पार्टीको संगठन विस्तारमा संलग्न व्यक्तिलाई अतिरिक्त महत्व दिने आशयमा उनले “एक नम्बर थपिने” भन्ने अभिव्यक्ति दिएका थिए ।
बुर्लाकोटीले भने उक्त भनाइलाई सरकारी नियुक्ति प्रक्रियासँग जोडेर बुझ्न नमिल्ने दाबी गरे । उनका अनुसार पार्टीको आन्तरिक संरचनामा लामो समयदेखि सक्रिय रहेका र संगठनमा योगदान पुर्याएका व्यक्तिलाई उम्मेदवार चयन गर्दा मूल्यांकन गर्ने सन्दर्भमा मात्र उक्त कुरा उल्लेख गरिएको हो ।
उनले पार्टी अधिवेशनका क्रममा कार्यकर्ताको योगदानलाई ध्यानमा राखेर टिकट वितरणमा प्राथमिकता दिने विषयमा धारणा राखेको पनि बताए ।







