महोत्तरी । बर्दिबास नगर क्षेत्रका १० हजार २९८ जना अव्यवस्थित बसोबासी र सुकुम्वासीले पहिलोपल्ट सेतो पुर्जा (घरजग्गाको निस्सा)पाउने भएका छन् ।
बर्दिबास नगरपालिकाका १४ वटा वडामा वर्षौँदेखि ऐलानी, पर्ति र सरकारी जग्गामा घर बनाएर बसेका अव्यवस्थित बसोबासी र सुकुम्वासीलाई बसोबास र जग्गाको भोगाधिकार प्रमाणित गर्दै सेतो पुर्जा दिने व्यवस्था अन्तिम चरणमा पुगेको छ ।
नगरपालिकाले भोग प्रमाणका आधारमा सेतो निस्सा प्रदान गरे पनि जग्गाको स्थायी निस्सा (लालपुर्जा) प्रदानको अधिकार भने संघीय निकायअन्तर्गत नै रहने कानुनी व्यवस्था छ । आगामी आर्थिक वर्षभित्रै अव्यवस्थित बसोबासी र सुकुम्वासीलाई जग्गा र सेतो पुर्जा उपलब्ध गराउने बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले जानकारी दिए ।
बर्दिबास नगर क्षेत्रका १४ वटै वडामा अव्यवस्थित बसोबासी र सुकुम्वासीको बसोबास छ । जिल्लाका १५ स्थानीयमध्ये सबैभन्दा बढी बर्दिबास नगरपालिकाको १४ नं वडामा ६० भन्दा बढी सुकुम्वासी बस्ती छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा नेपालको संविधान अनुसूची–८ ले स्थानीय तहलाई भूमि व्यवस्थापनसम्बन्धी प्रदान गरेको अधिकार क्षेत्रमा रही नगरपालिकाले सेतो निस्सा वितरण गर्ने प्रक्रिया सुरु गर्ने भएको हो ।







