काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई सरकारले गैर कानुनी रूपमा गिरफ्तार गरेको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार प्रेस वक्तव्य जारी गर्दै ओलीले अपहरण शैलीमा गिरफ्तार गरिएको भन्दै एमालेले घोर निन्दा र भर्त्सना गर्ने उल्लेख गरेका छन् । सामान्य कानुनी प्रक्रिया अपनाउन सकिने अवस्था हुँदाहुँदै पौडेललाई बदनियतपूर्वक गिरफ्तार गरिएको ओलीले आरोप लगाएका छन् ।
सार्वजनिक पद धारण गरिसकेका तथा कानुनको सम्मान गर्ने राजनीतिक व्यक्तित्वमाथि सस्तो राजनीतिक खपतका लागि स्टन्ट गरिएको आरोप लगाउँदै ओलीले सत्ताको उन्मादमा गरिएको अधिनायकवादी कदमको डटेर सामना गर्ने चेतावनी पनि दिएका छन् ।








