काठमाडौँ । सरकारले असारको तेस्रो साताबाट भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण अभियान सुरु गरेको छ। अभियानअन्तर्गत पहिलो चरणमा बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरिएको छ।
लालपुर्जा प्राप्त गरेसँगै ती परिवार कानुनी रूपमा जग्गाधनी बनेका छन्। यसबाट उनीहरूले बैंकिङ सेवा, ऋण सुविधा तथा जग्गाधनीको प्रमाण आवश्यक पर्ने अन्य सरकारी सेवामा सहज पहुँच पाउने भएका छन्।
भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको नीतिअनुसार लालपुर्जा वितरण अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाइनेछ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको बताएकी छन्। बर्दियाबाट सुरु गरिएको लालपुर्जा वितरण अभियानलाई क्रमश: देशभर विस्तार गर्दै वास्तविक भूमिहीन नागरिकलाई जग्गाको कानुनी स्वामित्व दिलाइने उनले बताइन्।







