काठमाडौँ । अध्यागमन विभागले भिसासम्बन्धी सेवा प्रवाहलाई थप व्यवस्थित, सहज र सेवाग्राहीमैत्री बनाउन डिजिटल ‘अपोइन्टमेन्ट व्यवस्थापन प्रणाली’ अनिवार्य रूपमा कार्यान्वयन गर्ने भएको छ।
विभागले बिहीबार सूचना जारी गर्दै भिसा म्याद थप (भिसा एक्सटेन्सन) र भिसा रूपान्तरण (भिसा कन्भर्सन) जस्ता सेवाका लागि सेवाग्राहीको चाप व्यवस्थापन गर्न उक्त प्रणाली लागू गरिएको जनाएको छ। विभागका अनुसार निश्चित दिनमा अत्यधिक भीड र अन्य दिन न्यून उपस्थिति हुने अवस्थालाई सन्तुलित गरी सेवा प्रवाह प्रभावकारी बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो।
विभागले यसअघि नै पदयात्रा अनुमति (ट्रेकिङ परमिट) र इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन (इ-टीए) सेवालाई पूर्ण रूपमा अनलाइन (फेसलेस) प्रणालीमार्फत सञ्चालन गरिसकेको उल्लेख गरेको छ।
सूचनाअनुसार अपोइन्टमेन्ट प्रणाली गत असार १२ गतेदेखि परीक्षणका रूपमा सञ्चालनमा रहेको छ। हाल नेपाली पोर्टलमार्फत भिसा आवेदनसँगै घण्टाअनुसारको अपोइन्टमेन्ट समय उपलब्ध गराइएको छ। परीक्षण अवधिमा समय निर्धारण नगरेका तथा अपोइन्टमेन्ट स्लिप नभएका सेवाग्राहीलाई समेत सेवा उपलब्ध गराइँदै आएको विभागले जनाएको छ।
विभागका अनुसार आगामी आर्थिक वर्षको सुरुवात अर्थात् २०८३ साउन १ गतेदेखि आवेदनको कोटा निर्धारण गरी अपोइन्टमेन्टअनुसार मात्र सेवा प्रदान गरिनेछ। यस व्यवस्थाले दैनिक सेवाग्राहीको सङ्ख्यालाई कार्यतालिका अनुसार व्यवस्थित गरी कार्यालयको सेवा प्रवाहलाई थप सन्तुलित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
विभागले नेपालमा रहेका विदेशी नागरिक तथा अन्य सरोकारवालालाई उपलब्ध गराइएको समयअनुसार मात्रै विभागमा उपस्थित भई सेवा लिन आग्रह गर्दै नयाँ व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न अनुरोध गरेको छ।







