काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट नाटकीय पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले पराजित गरेको छ। जितसँगै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
खेलको १५औँ मिनेटमा यासर इब्राहिमले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। ६७औँ मिनेटमा मोस्तफा जीकोले दोस्रो गोल थपेपछि इजिप्ट ऐतिहासिक जितको नजिक पुगेको देखिएको थियो।
तर अन्तिम चरणमा अर्जेन्टिनाले लगातार तीन गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो। ७९औँ मिनेटमा क्रिस्टियान रोमेरोले पहिलो गोल गर्दै अन्तर घटाए। त्यसलगत्तै लियोनेल मेस्सीले बराबरी गोल फर्काए।
इन्जुरी समय थपिएको तेस्रो मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक गोल गरेपछि अर्जेन्टिना ३–२ ले विजयी भयो। मेस्सीको गोल र अन्तिम समयमा फर्नान्डेजको निर्णायक प्रहारले अर्जेन्टिनाको क्वार्टरफाइनल यात्रा सुनिश्चित गरेको हो।
अर्को अन्तिम १६ खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गरेको छ। निर्धारित समय र अतिरिक्त समयमा दुवै टोली गोलरहित बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
यससँगै अन्तिम १६ का सबै खेल सकिएका छन्। अब क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
क्वार्टरफाइनलका अन्य खेलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग तथा नर्वेले इङ्ल्यान्डसँग खेल्ने तालिका छ। फिफा विश्वकप २०२६ संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेका छन्।







