काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का नवनियुक्त वैज्ञानिकहरूलाई अनुसन्धानका उपलब्धि किसानको व्यवहारिक आवश्यकतासँग जोड्न निर्देशन दिएकी छन्।
नार्कद्वारा आयोजित नवनियुक्त वरिष्ठ वैज्ञानिक तथा वैज्ञानिकहरूको अभिमुखीकरण कार्यक्रम र राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) को अनुगमनका क्रममा मन्त्री चौधरीले कृषि अनुसन्धानको प्रभाव प्रयोगशालाभित्र मात्र सीमित नभई किसानको खेत, उत्पादन प्रणाली र जीवनस्तरसम्म देखिनुपर्ने बताएकी हुन्।
उनले कृषि क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको आधुनिकीकरण र रूपान्तरणका लागि वैज्ञानिक अनुसन्धानको भूमिका निर्णायक हुने उल्लेख गरिन्। वैज्ञानिकहरूले अनुसन्धान केन्द्रमा गरिएका कामलाई व्यवहारिक समाधानका रूपमा विकास गरी किसानका समस्या समाधानमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
मन्त्री चौधरीले किसानका वास्तविक चुनौती पहिचान गरी त्यसअनुसार प्रविधि, बीउ बिजन, उत्पादन प्रणाली तथा अन्य वैज्ञानिक उपाय विकास गर्नु वैज्ञानिक समुदायको मुख्य दायित्व भएको बताइन्। उनका अनुसार किसानका खेतहरू नै अनुसन्धानका वास्तविक परीक्षण स्थल भएकाले त्यहाँबाट प्राप्त अनुभव र आवश्यकतालाई अनुसन्धान प्रक्रियामा समेटिनुपर्छ।
उनले अनुसन्धानबाट प्राप्त उपलब्धि किसानसम्म प्रभावकारी रूपमा पुर्याउन प्रदेश तथा स्थानीय सरकार, शैक्षिक संस्था, निजी क्षेत्र र किसान समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिइन्।







