काठमाडौँ । नेकपा एमालेले संविधान संशोधनसम्बन्धी बहस पत्र तयार गर्न गठित कार्यदलमा अबदेखि सहभागी नहुने निर्णय गरेको छ। यससँगै उक्त कार्यदलबाट दूरी बनाउने राजनीतिक दलहरूको संख्या थपिएको छ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलमा एमालेका तर्फबाट डा. भीष्म अधिकारी सहभागी हुँदै आएका थिए। तर पार्टीले आफ्नो प्रतिनिधिलाई कार्यदलबाट फिर्ता बोलाउने निर्णय गरेको हो।
एमाले महासचिव शंकर पोखरेलले कार्यदलका संयोजकलाई पत्र पठाउँदै पार्टीले कार्यदलमा सहभागिता निरन्तरता नदिने जानकारी गराएका छन्।
पत्रमा संविधान संशोधनको मूल विषयवस्तुबारे सरकारको धारणा अझै स्पष्ट हुन नसकेको उल्लेख गरिएको छ। साथै, छलफलका लागि अघि सारिएका केही प्रस्ताव संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र व्यवस्थासँग मेल नखाने प्रकृतिका देखिएको भन्दै त्यसप्रति पार्टीको असहमति रहेको जनाइएको छ।
एमालेले यसअघि नै सरकारसमक्ष आफ्नो धारणा र प्रस्ताव प्रस्तुत गरे पनि त्यसबारे हालसम्म स्पष्ट जवाफ प्राप्त नभएको उल्लेख गर्दै सोही कारण औपचारिक रूपमा पार्टी प्रतिनिधिलाई कार्यदलबाट फिर्ता बोलाइएको जनाएको छ।
यसअघि नेपाल कम्युनिष्ट पार्टीले पनि उक्त कार्यदलमा सहभागी नहुने निर्णय गरिसकेको छ। त्यस्तै, नेपाली काँग्रेसले कार्यदलका बैठकहरूमा सुरुदेखि नै सहभागिता जनाएको छैन।







