काठमाडौँ । बाँकेको राप्ती नदी र तनहुँको सेती नदीमा बाढी तथा डुबानमा परेका चार जनाको नेपाली सेनाले सकुशल उद्धार गरेको छ।
नेपाली सेनाका अनुसार असार २५ गते बाँकेको राप्ती सोनारी गाउँपालिका-२, लालपुरस्थित राप्ती नदीमा माछा मार्न गएका ६ जना स्थानीयमध्ये अचानक आएको बाढीका कारण तीन जना नदीको बीचभागमा फसेका थिए। उनीहरूलाई बज्रदल गणबाट खटिएको नेपाली सेनाको टोलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा सुरक्षित उद्धार गरेको हो।

त्यसै गरी, गए राती करिब ११ बजे तनहुँको व्यास नगरपालिका-४ स्थित सेती नदीमा डुबेकी एक महिलालाई कालीभञ्जन गणबाट खटिएको नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको समन्वयमा सकुशल उद्धार गरेको जनाएको छ।







