काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका-१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारमा उपलब्ध सबै प्रविधि, औषधि र विशेषज्ञ जनशक्तिको प्रयोग गरिए पनि उनको ज्यान जोगाउन नसकिएको वीर अस्पतालले जनाएको छ।
शुक्रबार जारी प्रेस विज्ञप्तिमा अस्पतालले नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग गम्भीर रूपमा जलेको (सिभियर बर्न) र अत्यन्त जटिल अवस्थामा बिहीबार अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको उल्लेख गरेको छ।
अस्पतालका अनुसार भर्नापछि उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखी मेकानिकल भेन्टिलेटरको सहायतामा चौबीसै घण्टा निरन्तर उपचार गरिएको थियो। प्लास्टिक सर्जरी, एनेस्थेसिया तथा क्रिटिकल केयर विभागका वरिष्ठ विशेषज्ञ चिकित्सक तथा नर्सहरूको टोलीले चिकित्सा विज्ञानले स्वीकृत सबै उपचार विधिको प्रयोग गर्दै उनको जीवन रक्षाका लागि निरन्तर प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिअनुसार थप उच्चस्तरीय उपचारका लागि विदेश लैजाने तयारीसमेत भइरहेका बेला अचानक स्वास्थ्य अवस्थामा गम्भीर जटिलता उत्पन्न भएको थियो। त्यसपछि चिकित्सकहरूले तत्काल कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) सहित जीवन रक्षक उपचार प्रदान गर्दै अन्तिम क्षणसम्म उनलाई बचाउने प्रयास जारी राखेका थिए।
तर अस्पतालको बहुविशेषज्ञ टोली र राज्य संयन्त्रका तर्फबाट उपलब्ध सबै प्रविधि, औषधि तथा विशेषज्ञताको प्रयोग गरी निरन्तर उपचार गर्दा पनि उनको स्वास्थ्य अवस्थामा सुधार आउन नसकेको र उपचारकै क्रममा शुक्रबार बिहान ११:१९ बजे उनको निधन भएको अस्पतालले जनाएको छ।
वीर अस्पतालले बिरामीको उपचारमा कुनै कसर बाँकी नराखिएको उल्लेख गर्दै गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। विज्ञप्तिमा स्वर्गीय नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरिएको छ। साथै यस दु:खद् घडीमा परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासमेत अस्पतालले गरेको छ।








