वरिष्ठ समालोचक मैनालीको नयाँ कृतिमा नेपाली साहित्य, विश्वसाहित्य र समकालीन समालोचनाका विविध आयाम समेटिए
काठमाडौँ । वरिष्ठ समालोचक तथा साहित्यकार एवं नेपाल सरकारका पूर्वसचिव गोपी मैनालीको नयाँ कृति ‘विचार र विवेचन :समालोचनात्मक अन्वेषण’ आइतबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ। साहित्य, समालोचना, सिर्जना र विश्वसाहित्यका विविध आयामलाई समेटिएको उक्त कृतिको लोकार्पण साहित्यकार, समालोचक तथा पाठकहरूको उपस्थितिमा गरिएको हो।
करिब ४७६ पृष्ठको पुस्तकमा सिर्जना, साहित्यिक स्वतन्त्रता, निबन्ध, कथा, उपन्यास, नियात्रा, विज्ञान कथा, बालसाहित्य, आत्मकथा, विश्वसाहित्य तथा नेपाली साहित्यका विशिष्ट स्रष्टा र कृतिमाथिका समालोचनात्मक लेख समावेश छन्। पुस्तकमा लक्ष्मीप्रसाद देवकोटा, विश्वेश्वरप्रसाद कोइराला, रमेश विकल, किरण खरेल, युवराज मैनाली, ठाकुर शर्मा भण्डारी, महेश प्रसादलगायतका स्रष्टामाथि केन्द्रित अध्ययन पनि समेटिएको छ।
पुस्तकको ‘विचार र विवेचनमाथि आफ्नै विवेचन’ शीर्षकको भूमिकामा मैनालीले समालोचनालाई सिर्जनाको पुन:सिर्जनाका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार समालोचना केवल सहमति वा असहमतिको अभिव्यक्ति नभई कृतिको विवेचना, परीक्षण, पुनर्पाठ र अन्वेषणको प्रक्रिया हो। उनले साहित्य सिर्जनाको मूल्य पहिचान गर्दै त्यसको गहिराइ र प्रभावलाई पुन:उजागर गर्नु नै समालोचनाको मूल उद्देश्य भएको बताएका छन्।
मैनालीले भूमिकामै साहित्यलाई समय, समाज र विश्वदृष्टिसँग जोडेर हेर्नुपर्ने आवश्यकता औँल्याएका छन्। सिर्जना र समालोचना दुवै गतिशील रहने उल्लेख गर्दै उनले साहित्यलाई दर्शन, समाजशास्त्र, मनोविज्ञान, विज्ञान, राजनीति तथा विश्वसाहित्यसँग अन्तर सम्बन्धित रूपमा अध्ययन गर्नुपर्ने धारणा अघि सारेका छन्।
पुस्तकमा ‘स्रष्टा, सिर्जना र स्वतन्त्रता’, ‘सिर्जना र प्रभाव’, ‘क्रान्तिकारी साहित्य र साहित्यिक क्रान्तिकारिता’, ‘आत्मकथाको आत्मकथा’, ‘नियात्राको नियति’ लगायत विषयका विश्लेषणात्मक लेखका साथै नेपाली साहित्यका विभिन्न विधा र प्रवृत्तिमाथि केन्द्रित समालोचनात्मक अध्ययन समावेश गरिएको छ।
लेखकले पुस्तकको निष्कर्षमा साहित्यलाई फराकिलो दृष्टिकोणबाट हेर्ने, समालोचनालाई बहु आयामिक अनुसन्धानका रूपमा स्थापित गर्ने तथा सिर्जना र समालोचनाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले कृति तयार गरिएको उल्लेख गरेका छन्।
साहित्यिक समालोचनामा नयाँ विमर्श सिर्जना गर्ने अपेक्षासहित प्रकाशित यस कृतिले नेपाली साहित्यिक जगत्मा थप बहस र अनुसन्धानलाई प्रेरणा दिने विश्वास गरिएको छ।







