काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)की प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि पुनः नियमित जिम्मेवारीमा फर्किएकी छिन्।
बिलिङ प्रणाली खरिदसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा निलम्बनमा परेकी अर्यालको निलम्बन फुकुवा भएपछि उनी आजदेखि नेपाल टेलिकममा पुनर्बहाली भई काममा फर्किएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिलिङ प्रणाली खरिद प्रक्रियामा भ्रष्टाचार भएको आरोप लगाउँदै अर्यालविरुद्ध ३३ करोड ४८ लाख १७ हजार रुपैयाँ बिगो दाबी गरी २०८२ जेठ २५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
विशेष अदालतले असार २५ गते उक्त मुद्दामा अर्याललाई सफाइ दिएको थियो। अदालतको फैसलापछि उनको निलम्बन स्वतः फुकुवा भएको हो।
अर्यालको पुनर्बहालीसँगै नेपाल टेलिकमको नेतृत्व पुनः उनकै जिम्मेवारीमा आएको छ।







