काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका सभापति गगनकुमार थापाको निवास तथा केही सञ्चार संस्थाका कार्यालयअगाडि शंकास्पद ढंगले सवारीसाधन पार्किङ गरिएको घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न उठाएको छ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकको प्रारम्भमै विपक्षी दलहरूले विरोध जनाएका थिए। सभामुखले समय दिएपछि काँग्रेसका प्रमुख सचेतक निष्कल राईले उक्त विषय उठाउँदै घटनामा प्रहरी प्रशासनको भूमिका सन्तोषजनक नरहेको आरोप लगाए।
उनले थापाको निवासअगाडि पार्किङ गरिएको सवारीप्रति स्थानीयवासीले सुरक्षा चासो व्यक्त गर्दा पनि प्रहरीले तत्काल आवश्यक पहल नगरेको दाबी गरे। समुदायले शान्ति सुरक्षाको प्रत्याभूति खोज्दा प्रहरी निष्क्रिय बनेको र पछि सवारी हटाइएको भन्दै उनले घटनालाई गम्भीर रूपमा लिन सरकारसँग माग गरे।
राईले सोही प्रकृतिका सवारीसाधन सोमबार केही सञ्चार संस्थाका कार्यालयअगाडि पनि प्रवेश तथा आवतजावतमा अवरोध पुग्ने गरी पार्किङ गरिएको उल्लेख गरे। उनले यस प्रकारका गतिविधिले त्रासको वातावरण सिर्जना गर्ने भन्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने धारणा राखे।
सोमबार बिहान अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया समूहका कार्यालयअगाडि उस्तै शैलीमा सवारीसाधन पार्किङ गरिएको थियो। कार्यालयमा प्रवेश गर्न अवरोध हुने गरी सवारी राखिएपछि सम्बन्धित सञ्चार संस्थाले प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि प्रहरी घटनास्थल पुगेर सवारी धनीको खोजी प्रक्रिया अघि बढाएको थियो।
उक्त घटनामा संलग्न व्यक्ति वा उद्देश्यबारे हालसम्म आधिकारिक रूपमा निष्कर्ष सार्वजनिक भएको छैन। सञ्चार संस्थाको नियमित कार्यसम्पादनमा अवरोध पुग्ने गरी भएको पार्किङको विषयलाई लिएर प्रतिनिधिसभामा सरकारसँग जवाफ माग गरिएको हो।







