काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रवेश प्रक्रिया नियमावली विपरीत भएको दाबी गर्दै सभामुखको ध्यानाकर्षण गराएको छ।
एमाले सांसद ऐन महरले प्रतिनिधि सभा नियमावलीमा सभामुखको आसन र बोलिरहेको सदस्यबीचबाट आवतजावत गर्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै उक्त प्रावधान उल्लंघन भएको बताएका हुन्।
मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद महरले बैठक चलिरहेका बेला राप्रपा सांसद खुश्बु ओलीले आफ्नो धारणा राखिरहेको अवस्थामा प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछाने संसद् कक्षमा प्रवेश गरेको भन्दै आपत्ति जनाए।
उनले नियमावलीको सम्बन्धित व्यवस्थाको पालना नभएको भन्दै यस विषयमा सभामुखबाट आधिकारिक निर्देशन (रुलिङ) जारी गर्न माग गरे।
प्रधानमन्त्री शाह र सभापति लामिछाने प्रतिनिधि सभा बैठकमा सहभागी हुन पुग्दा सांसद ओलीले आफ्नो भनाइ राखिरहेको अवस्था रहेको थियो। सोही घटनालाई लिएर एमालेले संसद् नियमको पालना र प्रक्रियागत मर्यादाको विषय उठाएको हो।







