काठमाडौँ । नेपाल आयल निगमले बुधबारदेखि उपभोक्तालाई खाना पकाउने ग्यास साविककै परिमाणमा उपलब्ध गराउने भएको छ ।
निगमले एक सूचना जारी गर्दै १४.२ किलोग्राम क्षमताको पूर्ण सिलिन्डर ग्यास पुनः बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको जनाएको हो । यसअघि बजारमा आपूर्ति सहज बनाउन गत २९ फागुनदेखि आधा परिमाण अर्थात् ७.१ किलोग्राम ग्यास मात्र बिक्री हुँदै आएको थियो ।
निगमका अनुसार अब मुलुकभर पूर्ण सिलिन्डर ग्यासको बिक्री हुनेछ भने यसको उपभोक्ता मूल्य २ हजार ६० रुपैयाँ कायम गरिएको छ ।
यद्यपि, ७.१ किलोग्राम क्षमताका सिलिन्डर पूर्ण रूपमा बजारबाट हटाइ नसकिएकाले संक्रमणकालीन अवधिसम्म दुवै प्रकारका सिलिन्डर बिक्रीमा रहने निगमले स्पष्ट पारेको छ ।








