काठमाडौँ । प्रतिपक्ष दल श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी संग्रौलाले प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधि सभा नियमावली उल्लंघन गरेको भन्दै आपत्ति जनाएकी छन् ।
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री र सत्तापक्षीय नेताहरूबाटै संसदीय मर्यादाको उपहास भएको टिप्पणी गरिन्।
सांसद संग्रौलाका अनुसार मंगलवारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सम्बोधन गरिरहेको समयमा प्रधानमन्त्री साह र सत्तारुढ र दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नियमावलीको बर्खिलाप हुने गरी सभाभित्र आवतजावत गरेका थिए ।
प्रतिनिधि सभा नियमावलीको नियम २० मा कुनै पनि सदस्यले बोलिरहेको समयमा सभामुख र ती सदस्यको बीचबाट हिँड्न नपाइने स्पष्ट व्यवस्था छ ।
उनले प्रधानमन्त्रीले विगतमा सीमासम्बन्धी दिएको अभिव्यक्तिप्रति पनि आलोचना गरिन् । गत जेठ १७ गते सदनमा व्यक्त गरिएको सो अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको दाबी गर्दै उनले सो कुरा नसच्याइएकोमा असन्तुष्टि व्यक्त गरिन् ।
उनले नागरिकको जिउधनको सुरक्षा गर्नु राज्यको प्राथमिक दायित्व भएको स्मरण गराइन् । दलित समुदायका गणेश नेपालीले आत्मदाह गरेको दु:खद् घटनाको चर्चा गर्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाइन्। सरकारले आफूलाई ‘एक्सप्रेस वे’ मा हिँडेको दाबी गरे पनि त्यसको नकारात्मक असर र दुर्घटनाको मारमा सर्वसाधारण परिरहेको उनको तर्क थियो ।
सांसद संग्रौलाले विधिको शासन नै लोकतन्त्रको मूल आधार भएको उल्लेख गर्दै उनले सरकारलाई जिम्मेवार र नियमसंगत प्रस्तुत हुन आग्रह गरिन् ।







