काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक उन्नति र दीर्घकालीन समृद्धिका लागि श्रम उत्पादकत्व सुधार आवश्यक रहेको बताएका छन्। उनले सीप विकाससम्बन्धी कार्यक्रमहरू निजी क्षेत्रको सक्रिय नेतृत्व र सहभागितामा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।
सिंहदरबारस्थित युवा, श्रम तथा रोजगार मन्त्रालयमा बिहीबार उद्योगी तथा व्यवसायीहरूसँग भएको छलफलमा अध्यक्ष पाण्डेले नेपालको श्रम उत्पादकत्व छिमेकी तथा समान आर्थिक अवस्था भएका मुलुकहरूको तुलनामा कमजोर अवस्थामा रहेको उल्लेख गरे।
उनले उपलब्ध तथ्यांकले नेपाल श्रम उत्पादकत्वका आधारमा तलबाट तेस्रो समूहमा रहेको देखाउने भन्दै यस क्षेत्रमा सुधारका लागि प्रभावकारी रणनीति आवश्यक रहेको धारणा राखे।
अध्यक्ष पाण्डेका अनुसार हाल सञ्चालन भइरहेका सीप विकासका कार्यक्रमहरू पर्याप्त समन्वय र परिणाममुखी दृष्टिकोणबिना छरिएका छन्। त्यसलाई श्रम बजारको आवश्यकता, उद्योग क्षेत्रको माग र रोजगारी सिर्जनासँग जोडेर अघि बढाउनुपर्ने उनको भनाइ थियो।
उनले दक्ष जनशक्ति उत्पादन र उत्पादनशील रोजगारी विस्तारका लागि सरकार, निजी क्षेत्र र सम्बन्धित पक्षबीच सहकार्य आवश्यक रहेको बताए।







