काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा गलत सूचना र भ्रमपूर्ण प्रचारको प्रभाव बढ्दै गएको भन्दै यसप्रति चिन्ता व्यक्त गरेका छन्।
पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पछिल्लो समय एमालेविरुद्ध आधारहीन प्रचारमार्फत आक्रमण गर्ने प्रवृत्ति बढेको दाबी गरे।
उनले तथ्यलाई विकृत रूपमा प्रस्तुत गर्ने, सही र गलतबीचको भिन्नता मेटाउने तथा भ्रमलाई स्थापित गर्ने प्रवृत्तिले सामाजिक वातावरण प्रभावित भइरहेको बताए। अध्यक्ष ओलीले गलत कुरालाई सही र सही कुरालाई गलत देखाउने शैलीले समाजमा अन्योल बढाएको धारणा राखे।
उनका अनुसार विगतमा प्रचारको माध्यमबाट धारणा परिवर्तन गर्ने प्रवृत्तिलाई एउटा निश्चित शैलीका रूपमा बुझिन्थ्यो भने अहिले त्यसभन्दा पनि प्रभावकारी ढंगले भ्रम फैलाउने अवस्था देखिएको छ।
अध्यक्ष ओलीले मानिसहरूले प्रमाण र तथ्यभन्दा प्रचारमा आधारित धारणालाई सहजै स्वीकार गर्ने अवस्था सिर्जना भइरहेको भन्दै समाजको सूचना ग्रहण गर्ने प्रवृत्तिमाथि प्रश्न उठाए। उनले सत्य र असत्य छुट्याउने क्षमता विकास गर्नु आवश्यक रहेको बताए।







