काठमाडौँ । शिक्षक तथा शिक्षण पेसाको मर्यादामाथि असर पर्ने दाबी गर्दै दुर्गेश थापा र प्रियंका कार्की अभिनीत चलचित्र ‘मास्टर्नी’ को प्रचारात्मक गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा निवेदन दर्ता भएको छ।
तनहुँको व्यास नगरपालिका-११ स्थित बाराही माध्यमिक विद्यालयका शिक्षक रमेशबाबु भट्टराईले शुक्रबार मन्त्रालयमा लिखित उजुरी दिँदै उक्त गीतको प्रसारण तथा प्रचारमा रोक लगाउन माग गरेका हुन्।
उजुरीमा चलचित्रको प्रचारका लागि सार्वजनिक गरिएको ‘ताराबाजी लैलै’ शीर्षकको गीतमा प्रयोग भएका केही शब्द तथा प्रस्तुतिले शिक्षक समुदाय, विशेष गरी महिला शिक्षकको सम्मान र समग्र शिक्षण पेसाको प्रतिष्ठामा नकारात्मक प्रभाव पार्ने उल्लेख गरिएको छ।
गीतमा प्रयोग भएका सामग्रीले सामाजिक तथा सांस्कृतिक मूल्य मान्यतामाथि समेत प्रश्न उठाउने भएकाले आवश्यक नियमन तथा कारबाही गर्न माग गरिएको निवेदनमा जनाइएको छ।
यस विषयमा यसअघि नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक राष्ट्रिय समितिले पनि आपत्ति प्रकट गर्दै सार्वजनिक रूपमा धारणा राखिसकेका छन्। ती संस्थाहरूले गीतले शिक्षक पेसाको गरिमा कमजोर बनाउने भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।








