काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सांसदका स्वकीय सचिवको भूमिका व्यक्तिगत सहयोगमा सीमित नभई संसदीय दायित्वलाई प्रभावकारी रूपमा सम्पादन गर्न सहयोग पुग्ने गरी परिभाषित हुनुपर्ने बताएका छन्।
आइतबार पार्टीको संसदीय विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले स्वकीय सचिव छनोट गर्दा सूचना प्रविधिमा दक्ष, कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्न सक्ने तथा संसदीय कार्यप्रति बुझाइ भएका व्यक्तिलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
उनले सांसदका लागि स्वकीय सचिव नियुक्त गर्नु स्वाभाविक र आवश्यक व्यवस्था भए पनि त्यसलाई घरायसी वा व्यक्तिगत कामका लागि उपयोग गर्नु उपयुक्त नहुने बताए। बरु संसद्सँग सम्बन्धित अध्ययन, अनुसन्धान, सूचना व्यवस्थापन तथा डिजिटल माध्यमको प्रभावकारी प्रयोगमा सहयोग पुर्याउन सक्ने जनशक्ति छनोट गर्नुपर्नेमा उनले जोड दिए।
पोखरेलले वर्तमान राजनीतिक प्रतिस्पर्धामा डिजिटल प्लेटफर्म र भर्चुअल माध्यमको प्रभाव निरन्तर बढ्दै गएको उल्लेख गर्दै एमाले यस क्षेत्रमा अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको टिप्पणी गरे। संसदमा प्रस्तुत गरिने विचार, बहस र गतिविधिलाई डिजिटल माध्यमबाट समेत व्यवस्थित रूपमा प्रवाह गर्न सक्षम स्वकीय सचिव आवश्यक पर्ने उनको भनाइ थियो।
उनले सांसदहरूको रुचि, अनुभव र विषयगत दक्षता फरक-फरक हुने भएकाले संसदीय भूमिकाको व्यवस्थापन पनि सोही आधारमा हुनुपर्ने बताए। पदानुक्रमभन्दा विषयवस्तुको ज्ञान, क्षमता र विशेषज्ञतालाई प्राथमिकता दिँदै जिम्मेवारी बाँडफाँट र नेतृत्व विकास गर्ने अभ्यासले संसदीय कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सक्ने उनले उल्लेख गरे।
सांसदलाई आफ्नो ज्ञान, रुचि र विशेषज्ञतासँग मेल खाने विषयमा बोल्ने अवसर प्रदान गर्न सके संसदको छलफलको गुणस्तर र प्रभावकारिता अझ बढ्ने पोखरेलको धारणा थियो।







