काठमाडौँ। लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँ उपत्यकामा लागुऔषध आपूर्ति तथा कारोबारमा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ प्रक्रियाका क्रममा एक जनामाथि प्रहरीले गोली प्रहार गरेको ब्युरोले जानकारी दिएको छ।
ब्यूरोद्वारा जारी प्रेस विज्ञप्तिअनुसार विशेष निगरानीका क्रममा आइतबार अपराह्न करिब ४:१० बजे काठमाडौँ महानगरपालिका-१२ टेकुस्थित दोवानपुल नजिक भारतको रुपैडियाबाट काठमाडौँ उपत्यकामा टपेन्डाडोल ल्याई बिक्री-वितरण गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिन खोजिएको थियो।
प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा आरोपितहरूले प्रहरी टोलीमाथि आक्रमण गर्दै भाग्ने प्रयास गरेपछि चेतावनी स्वरूप हवाई फायर गरिएको थियो। त्यसपछि पनि नरोकिएकाले भारतको उत्तर प्रदेशस्थित रुपैडिया घर भएका २५ वर्षीय राज सोनीको दायाँ घुँडामा एक राउन्ड र बायाँ घुँडामुनि एक राउन्ड गरी दुई राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ।
घाइते भएका राज सोनीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यस घटनामा पक्राउ पर्ने अन्य व्यक्तिहरूमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१७, परसपुरका १९ वर्षीय निखिल सोनी र सुर्खेतको पञ्चपुरी नगरपालिका-५, बाबियाचौरकी १९ वर्षीया शोफिया मगर रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट टपेन्डाडोलका २४ हजार ७०० क्याप्सुल र तीन थान मोबाइल फोन बरामद गरेको जनाएको छ। ब्युरोका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।







