काठमाडौँ । काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियाअन्तर्गत ३५ जना आवेदकको दरखास्त स्वीकृत भएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले सोमबार सूचना जारी गर्दै उपकुलपति छनोट तथा सिफारिस समितिले प्राप्त आवेदनहरूको प्रारम्भिक परीक्षणपछि ३५ जनाको आवेदन स्वीकृत गरेको जनाएको हो।
मन्त्रालयका अनुसार यो प्रक्रिया ‘काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ बमोजिम अघि बढाइएको हो। कार्यविधिअनुसार प्राप्त आवेदनहरूको परीक्षणपछि योग्यता पुगेका आवेदकहरूको सूची सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ।
स्वीकृत आवेदन भएका उम्मेदवारहरू छनोट प्रक्रियाका आगामी चरणमा सहभागी हुनेछन्। सिफारिस समितिले कार्यविधिले तोकेका मापदण्डका आधारमा थप मुल्यांकन तथा सिफारिस प्रक्रिया अघि बढाउने जनाइएको छ।








