काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले वैदेशिक रोजगारीमा जनशक्ति पठाउने प्रवृत्तिभन्दा स्वदेशमै उत्पादन बढाएर उत्पादित वस्तुको निर्यात विस्तार गर्नु दीर्घकालीन आर्थिक समृद्धिको आधार हुने बताएका छन्।
मंगलबार नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले उत्पादन र निर्यातमा आधारित अर्थतन्त्र निर्माणको आवश्यकता औँल्याएका हुन्। छलफलपछि संघका अध्यक्ष पशुपतिदेव पाण्डेका अनुसार प्रधानमन्त्रीले देशको विकासका लागि श्रम शक्ति विदेश पठाउने होइन, स्वदेशमा उत्पादन वृद्धि गरी त्यसको निर्यात बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए।
प्रधानमन्त्रीले तयारी पोसाक उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, निर्यात विस्तार र लगानी प्रवर्द्धनलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै नेपाल यस क्षेत्रमा बंगलादेश, भियतनाम, चीन, भारत र श्रीलंकाभन्दा किन पछाडि परेको भन्ने विषयमा उद्योगीसँग धारणा मागेका थिए।
छलफलमा मन्त्रालय तथा विभिन्न निकायमा रोकिएका उद्योगसम्बन्धी विषयलाई शीघ्र समाधान गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइएको संघले जनाएको छ। तयारी पोसाक उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्ने विषयमा पनि छलफल भएको बताइएको छ।
बैठकमा अमेरिका लगायतका मुलुकसँग स्वतन्त्र व्यापार सम्झौता (एफटीए) विस्तार, वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) आकर्षित गर्ने, बहुराष्ट्रिय कम्पनी भित्र्याउने तथा लामो समयदेखि बन्द रहेका हेटौँडा कपडा उद्योगजस्ता रुग्ण उद्योग पुनः सञ्चालन गर्ने विषयमा समेत विचार आदानप्रदान भएको थियो।
त्यसैगरी, काठमाडौँ उपत्यकामा छरिएर रहेका गार्मेन्ट उद्योगलाई एकीकृत गर्दै ‘ग्रीन गार्मेन्ट भिलेज’ स्थापना गर्ने र त्यसलाई औद्योगिक पर्यटनसँग जोड्ने अवधारणाबारे पनि छलफल भएको संघले जनाएको छ।
प्रधानमन्त्री शाहले उद्योगीलाई समस्या प्रस्तुत गर्ने मात्र नभई व्यावहारिक समाधानसहित कार्ययोजना पनि पेश गर्न आग्रह गरेका थिए। उनले कपास खेती, वनस्पति तथा पशुजन्य फाइबर उत्पादन, फाइबरदेखि कपडा र कपडादेखि फेसन उत्पादन हुँदै निर्यातसम्मको मूल्य शृंखला विकास गर्नुपर्नेमा जोड दिएका थिए।
अमेरिकी बजारमा ‘फ्लेमेबिलिटी’ परीक्षणका कारण रोकिएका नेपाली तयारी पोशाकको निर्यात सहजीकरणको लागि परराष्ट्र मन्त्रालयमार्फत आवश्यक पहल गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएको संघले जनाएको छ।
संघका महासचिव भीमकुमार गिरीका अनुसार प्रधानमन्त्रीले उद्योगहरू सहरी क्षेत्रमा मात्र सीमित नराखी ग्रामीण क्षेत्रमा पनि विस्तार गर्न सुझाव दिएका छन्। साथै, तयारी पोसाक उद्योगका लागि आवश्यक कच्चा पदार्थ तथा अन्य सामग्रीको स्वदेशमै उत्पादन बढाउने दिशामा काम गर्नुपर्ने धारणा पनि उनले राखेका थिए।
नेपाल तयारी पोसाक उद्योग संघका अनुसार हाल नेपालबाट वार्षिक करिब १० अर्ब रुपैयाँ बराबरको तयारी पोसाक निर्यात हुँदै आएको छ। उद्योगीहरूले आवश्यक नीतिगत सुधार, व्यापार सहजीकरण तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न सके निर्यातको आकार उल्लेखनीय रूपमा वृद्धि गर्न सकिने विश्वास व्यक्त गरेका छन्।







