काठमाडौँ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी तथा प्रतिनिधि सभा सदस्य रमेश प्रसाईबीच अपांगता भएका व्यक्तिको अधिकार, समावेशी विकास र आर्थिक आत्मनिर्भरताका विषयमा छलफल भएको छ।
मन्त्रालयमा भएको भेटवार्तामा सांसद प्रसाईँले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन, अधिकार संरक्षण तथा सम्मानजनक जीवनयापनका लागि आवश्यक नीतिगत सुधार गर्नुपर्ने विषय उठाएका थिए।
छलफलका क्रममा उनले अपांगता भएका व्यक्तिहरूले उत्पादन गर्दै आएका फिनाइल, धूप, सरसफाइ सामग्री, हस्तकलालगायतका गुणस्तरीय वस्तुको प्रयोग र प्रवर्द्धनमा सरकारी निकायले प्राथमिकता दिनुपर्ने सुझाव दिए। यस्ता सामग्रीको बजार विस्तार गर्न सके अपांगता भएका व्यक्तिको आयआर्जन वृद्धि, आत्मनिर्भरता र सामाजिक–आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने उनको भनाइ थियो।
सांसद प्रसाईँका सुझावप्रति सकारात्मक धारणा राख्दै मन्त्री बादीले अपांगता भएका व्यक्तिको अधिकार संरक्षण र आर्थिक सशक्तीकरण सरकारको प्राथमिकताभित्र रहेको बताइन्।
उनले अपांगता भएका व्यक्तिले उत्पादन गरेका सामग्रीको उपयोगलाई सरकारी निकायबाटै प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्राप्त सुझावलाई अध्ययन गरी नीति तथा कार्यक्रममार्फत अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।
मन्त्री बादीले केवल सहयोग उपलब्ध गराउनु मात्र पर्याप्त नभई उनीहरूले उत्पादन गरेका वस्तुको बजार सुनिश्चित गर्नु दीर्घकालीन सशक्तीकरणको आधार भएको बताइन्। सरकारी निकायले उदाहरण प्रस्तुत गर्दै यस्ता उत्पादनको प्रयोग बढाउनुपर्ने उनको भनाइ थियो।







