काठमाडौँ । पूर्वमुख्यसचिव एकनारायण अर्याल भारतबाट पक्राउ परेको गृह मन्त्रालय स्रोतले जनाएको छ । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले अर्यालको खोजी गरिरहेको थियो ।
गृह मन्त्रालय स्रोतका अनुसार अर्याललाई भारतको कोलकाताबाट नियन्त्रणमा लिइएको र केही घण्टाभित्रै झापाको काँकडभिट्टा नाकाबाट नेपाल ल्याउने तयारी भइरहेको छ । यद्यपि, उनको पक्राउ तथा नेपाल ल्याउने प्रक्रियाबारे प्रहरीले औपचारिक पुष्टि गर्न बाँकी छ ।
मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा संकलित रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अर्यालविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएको थियो ।
अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव रहँदा भएका निर्णय र त्यसमा उनको भूमिकालाई लिएर सीआईबीले अनुसन्धान गरिरहेको छ ।
सोही प्रकरणमा तत्कालीन श्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवरसहित मन्त्रालयका तत्कालीन उच्च अधिकारीहरू यसअघि नै पक्राउ परिसकेका छन् । उनीहरूमाथि ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
गृहसचिवको जिम्मेवारीसमेत सम्हालिसकेका अर्याल २०८१ भदौमा मुख्यसचिव नियुक्त भएका थिए । करिब १५ महिना मुख्यसचिवको जिम्मेवारी निर्वाह गरेका उनले २०८२ मङ्सिरमा उमेर हदका कारण अनिवार्य अवकाश पाएका थिए ।






