काठमाडौँ । तोकिएको अधिकारभन्दा बाहिर गएर सीप परीक्षण तथा प्रमाणीकरणको काम गरेको पाइएपछि एक प्राविधिक तालिम संस्थाको कार्यालयमा सरकारी अनुगमन टोलीले सिलबन्दी गरेको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र वैदेशिक रोजगार विभागको संयुक्त टोलीले अनुगमनका क्रममा इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा सिलबन्दी गरेको हो।
सीटीईभीटीबाट सीप प्रशिक्षण सञ्चालन गर्ने अनुमति मात्र लिएको उक्त संस्थाले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गरी सीप परीक्षण र प्रमाणीकरणसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको गुनासो आएपछि अनुगमन गरिएको मन्त्रालयले जनाएको छ।

अनुगमनका क्रममा संस्थाले कानुनी व्यवस्था र अनुमति प्राप्त सर्तविपरीत कार्य गरेको पाइएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। सीप परीक्षण तथा प्रमाणीकरण गर्ने अधिकार सरकारी निकाय सीटीईभीटीमा मात्र रहेको अवस्थामा संस्थाले उक्त अधिकार प्रयोग गरेको भेटिएको हो।
टोलीले संस्थाले अनुमति पाएका विषयभन्दा फरक विधामा समेत तालिम सञ्चालन गरेको पाइएको जनाएको छ। यसबाट संस्थाले स्वीकृत सीमाभन्दा बाहिर गएर गतिविधि सञ्चालन गरेको देखिएको अनुगमन टोलीको भनाइ छ।
अनुगमनपछि संस्थाको कार्यालय सिलबन्दी गरी आवश्यक कागजात, प्रमाणपत्रलगायत सामग्री नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका विवरणको अध्ययन तथा अनुसन्धानपछि प्रचलित कानुनअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने सम्बन्धित निकायले जनाएको छ।







