काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको अन्तिम लक्ष्य समाजसेवा भएको बताएका छन् ।
पार्टीको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक होटेल व्यवसायी संघले बिपी कोइरालाको ४४ औँ स्मृति दिवस तथा चौथो स्थापना दिवसको अवसरमा आज मानव सेवा आश्रममा आयोजना गरेको कार्यक्रममा उनले मानव सेवा सबैभन्दा ठुलो सेवा भएको बताए ।
उनले दिनदु:खी र बेसहाराका लागि मानव सेवा आश्रमले पुर्याएको योगदानको उच्च प्रशंसा गरे । बिपी कोइरालाको राजनीति र धर्मसम्बन्धी दर्शनको जनकल्याण भएको उनको भनाइ थियो ।
“धर्म र राजनीति दुवैको अन्तिम लक्ष्य भनेको जनकल्याण नै हो, बिपीका अनुसार धर्मको एउटा पक्ष आध्यात्मिक हुन्छ भने अर्को पक्ष परोपकार हो, त्यसैगरी, राजनीतिको पनि मुख्य पक्ष भनेको सेवा र कल्याण नै हो,” उनले भने । राजनीतिलाई सेवाको माध्यम बनाउनुपर्ने सभापति थापाको भनाइ थियो ।
नेपाल लोकतान्त्रिक होटेल व्यवसायी संघका अध्यक्ष लिला प्रसाद ढकालले संघले हरेक वर्ष बिपी स्मृति दिवसको अवसरमा यस्ता सामाजिक र पुण्य काम गर्दै आइएको जानकारी दिए । होटेल व्यवसायीको काम व्यवसायसँगै समाजसेवा भएकाले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने उनको भनाइ थियो ।
मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले हाल देशभरका सातै प्रदेशका २३ जिल्लाका ३४ स्थानबाट मानसेवाको काम गर्दै आइरहेको जानकारी दिए ।







