काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छोएर गम्भीर घाइते भएका नवलपरासी (सुस्ता पूर्व) का एक बालकलाई उपचार खर्चसहित १५ लाख ७१ हजार २५० रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
प्राधिकरण सञ्चालक समितिको बैठकले त्रिवेणी गाउँपालिका-२, घुसेनीका बालकलाई उपचार, क्षतिपूर्ति तथा कुरुवा खर्चबापत उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।
प्राधिकरणका अनुसार आमा समूहको भवनको छतमा खेल्ने क्रममा बालकले नजिकै रहेको ११ केभी विद्युत् प्रसारण लाइनको तार छुँदा दुर्घटना भएको थियो । दुर्घटनापछि उनको दुवै हात गुमेको जनाइएको छ ।
स्वीकृत रकम सम्बन्धित वितरण केन्द्रमार्फत पीडित बालकको परिवारलाई उपलब्ध गराइने प्राधिकरणले जनाएको छ ।
विद्युत् प्राधिकरणले दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ को विनियम ११ (१) अनुसार विद्युत् दुर्घटनामा परेकालाई क्षतिपूर्ति तथा उपचार खर्च उपलब्ध गराउँदै आएको छ ।
उक्त विनियमावली अनुसार क्षतिपूर्ति रकम स्वीकृत गर्ने अधिकार रकमको सीमाअनुसार फरक–फरक तहमा तोकिएको छ । दुई लाख रुपैयाँसम्मको रकम विभागीय प्रमुखले, दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म उपकार्यकारी निर्देशकले, पाँच लाखदेखि १० लाख रुपैयाँसम्म मुख्य प्रशासकीय अधिकृतले र १० लाख रुपैयाँभन्दा बढी रकम सञ्चालक समितिको निर्णयबाट स्वीकृत गर्नुपर्ने व्यवस्था रहेको प्राधिकरणले जनाएको छ ।







