धनगढी । गेटा विश्वविद्यालय संघर्ष समितिले डा. गोविन्द केसीको सत्याग्रहविरुद्ध धनगढीमा प्रदर्शन गरेको छ।
संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’को नेतृत्वमा शुक्रबार बिहान गेटास्थित विश्वविद्यालयको प्रवेशद्वारबाट करिब ५५ देखि ६० वटा अटोसहित र्याली निकालिएको थियो। र्यालीमा करिब एक सय जनाको सहभागिता रहेको जनाइएको छ।
प्रदर्शनकारीले ‘डा. गोविन्द केसी गो ब्याक’, ‘हामीलाई अनशन चाहिँदैन’ र ‘डा. गोविन्द केसी अनशन बन्द गर’लगायतका नारा लगाएका थिए। र्याली धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालासम्म पुगेको थियो। विरोध कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको संघर्ष समितिले जनाएको छ।
यसैबीच, सत्याग्रहमा रहेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार दिउँसो १२ बजे सेती प्रादेशिक अस्पताल लगिएको छ। उनको अस्पतालको सघन उपचार कक्ष (आईसीयू)को शय्या नम्बर २ मा उपचार भइरहेको जनाइएको छ।






