काठमाडौँ । बागलुङको बडिगाड गाउँपालिका-१ का १७ वर्षीय लजिन थापाको हत्या प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानले आइफोनसँग सम्बन्धित विवादपछि भएको कुटपिटका क्रममा लजिनको मृत्यु भएको देखाएको छ।
प्रहरीका अनुसार साउन १ गते राति लजिन आफ्ना साथी असिम वनको जन्मदिन मनाउन दगातुन्डाँडा प्राथमिक विद्यालय पुगेका थिए। त्यहाँ लजिनसहित सात जना साथीहरूले राति करिब १०:३० बजेदेखि बिहान ३ बजेसम्म मादक पदार्थ सेवन गरेका थिए।
भोलिपल्ट साउन २ गते लजिन सम्पर्कविहीन भएपछि उनका परिवारले इलाका प्रहरी कार्यालय गलकोटमा खोजतलासका लागि निवेदन दिएका थिए। त्यसपछि प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोली, पोलिग्राफ परीक्षण, तालिमप्राप्त कुकुर, ड्रोन क्यामेरा तथा स्थानीयवासीको सहयोगमा खोजी तथा अनुसन्धानलाई तीव्र बनाएको थियो।
अनुसन्धानकै क्रममा साउन ९ गते बिहान करिब ९:१५ बजे बडिगाड गाउँपालिका-१ अन्तर्गत मनखोलाको खोल्सामा लजिनको शव फेला परेको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि धौलागिरि प्रादेशिक अस्पताल, बागलुङमा राखिएको छ।
घटनामा संलग्न रहेको आरोपमा सुदिप विक, रेमबहादुर विक, ददी परियार र असिम वनलाई पक्राउ गरिएको छ। उनीहरूमाथि यसअघि व्यक्ति बेपत्ता पार्न नहुने कसुरअन्तर्गत अनुसन्धान सुरु गरिएको थियो।
प्रहरीले घटनाको विस्तृत कारण, संलग्नताको प्रकृति तथा अन्य पक्षबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।






