काठमाडौँ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै सत्याग्रहमा रहेका डा. गोविन्द केसीसँग सहमति जुटाउने उद्देश्यले सरकार र डा. केसी पक्षबीच धनगढीमा औपचारिक वार्ता सुरु भएको छ।
वार्ताअघि शिक्षा सचिव चूडामणि पौडेलले डा. केसीसँग प्रारम्भिक छलफल गरेका थिए। त्यसपछि सरकारी टोली र डा. केसीका प्रतिनिधिबीच औपचारिक संवाद अघि बढाइएको हो।
सरकारको तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवाल, स्वास्थ्य सचिव डा. विकास देवकोटा र शिक्षा सचिव पौडेल वार्तामा सहभागी छन्। डा. केसीको पक्षबाट डा. अमृत जैसी र पवन थापा सहभागी रहेको जनाइएको छ।
सरकारी टोलीले सेती प्रादेशिक अस्पताल पुगेर डा. केसीसँग भेट गरेपछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको कार्यकक्षमा वार्ता सुरु गरिएको डा. जैसीले जानकारी दिएका छन्।
सरकारले संवादमार्फत डा. केसीका माग सम्बोधन गर्ने र सहमतिको बाटो खोज्ने प्रयास गरिरहेको जनाएको छ।
यसअघि चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारसम्बन्धी विगतका सहमति कार्यान्वयन नभएको र आफ्ना मागप्रति सरकार गम्भीर नभएको भन्दै डा. गोविन्द केसीले बिहीबारदेखि कैलालीको धनगढीमा २४औँ सत्याग्रह सुरु गरेका थिए।






