काठमाडौँ । नेकपा (एमाले) का नेता ठाकुर गैरेले वर्तमान नेतृत्व संरचनामा हुने वामपन्थी एकताले पार्टी पंक्तिमा अपेक्षित उत्साह र ऊर्जा सिर्जना गर्न नसक्ने धारणा व्यक्त गरेका छन्।
एमाले पुनर्गठनमा पूर्वअखिलको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै गैरेले पार्टी पुनर्गठनका लागि नेतृत्व परिवर्तन र पुस्तान्तरण अपरिहार्य रहेको बताएका हुन्।
उनले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नेतृत्वबाट बिदा लिनुपर्ने धारणा पनि राखेका छन्।
वामपन्थी दलहरूबीचको एकताबारे ‘प्रचण्ड’ले व्यक्त गरेको ठूलो जनसहभागितासम्बन्धी अभिव्यक्तिप्रति संकेत गर्दै गैरेले व्यंग्यात्मक टिप्पणीसमेत गरेका थिए।
अनेरास्ववियुका पूर्वअध्यक्षसमेत रहेका गैरेले पार्टीलाई नयाँ ढंगले अघि बढाउन नेतृत्व हस्तान्तरणसँगै पुस्तान्तरणको प्रक्रिया आवश्यक रहेको उल्लेख गर्दै त्यसबाट मात्रै संगठन पुनर्गठनले सार्थकता पाउने बताएका छन्।






