काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक व्यक्तिको परिचय सार्वजनिक गरेको छ।
सीआईबीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका-११ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमी-१ बसोबास गर्दै आएका ३३ वर्षीय सन्दीप सिंह प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा अनुसन्धानको दायरामा रहेका छन्।
यस घटनामा संलग्न भएको आशंकामा प्रहरीले यसअघि दुईदेखि तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। प्रारम्भिक अनुसन्धानबाट उनीहरूको संलग्नता पुष्टि नभएपछि उनीहरूलाई रिहा गरिएको प्रहरीले जनाएको छ।
गत साउन ८ गते सञ्चालन भएको स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेभियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
अनुसन्धानका क्रममा ‘एमबिएस फर्स्ट सेम सेक्शन सी’ नामक ह्वाट्सएप समूहमा परीक्षा सुरु भएको करिब पाँच मिनेटमै प्रश्नपत्र पठाइएको खुलेको छ। त्यसलगत्तै उक्त सामग्री सामाजिक सञ्जालमा फैलिएको थियो।
प्रश्नपत्र बाहिरिएको विषयमा ‘टियु स्टुडेन्ट्स’ नामक फेसबुक पृष्ठले त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराउँदै सम्बन्धित ह्वाट्सएप समूहका स्क्रिनसटसमेत सार्वजनिक गरेको थियो। घटनाबारे सीआईबीले थप अनुसन्धान जारी राखेको जनाएको छ।






