काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न पाँच क्षेत्रमा अनिश्चित कालीन कर्फ्यु आदेश जारी गरेको छ।
स्थानीय दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जिल्लाको दक्षिणी क्षेत्रमा रहेका पाँच बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लगाइएको जानकारी दिए।
प्रशासनका अनुसार हरिनगरा बजार, भुटाहा बजार , कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा बिहान ७ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको छ। शान्ति सुरक्षाको स्थिति कायम राख्नका लागि तोकिएको क्षेत्रभित्र कसैले आवतजावत गर्न, सभा, जुलुस, प्रदर्शन, घेराउ वा कुनै पनि प्रकारको भेला तथा बैठक गर्न रोक लगाइएको छ।
दुई समूहबीच विवाद भएपछि नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। झडप र प्रदर्शनका क्रममा अन्य मानिसहरू घाइते भएका छन्।
प्रशासनले कर्फ्यु आदेशको उल्लङ्घन गर्नेलाई कानुन बमोजिम १ हजार रुपैयाँसम्म जरिवाना र १ महिनासम्म कैद सजाय हुन सक्ने चेतावनी दिएको छ।






