काठमाडौँ । नेपाली सेनाले पाँच जना उपरथी र पाँच जना सहायक रथीको सरुवा गर्दै उनीहरूलाई विभिन्न निकायमा नयाँ जिम्मेवारी दिएको छ।
सरुवाअनुसार उत्तर पश्चिम पृतना हेडक्वार्टरमा कार्यरत उपरथी दीपेशजंग शाह सैनिक सचिव विभागअन्तर्गत अतिरिक्त समूह (सैनिक इन्टेलिजेन्स महानिर्देशनालय, इन्टेलिजेन्स कोर) मा सरुवा भएका छन्। उनी केही समयपछि अवकाशमा जाने तयारीमा छन्।
उपत्यका पृतना हेडक्वार्टरमा कार्यरत उपरथी रवीन्द्र खत्री राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा भएका छन्। उनले सचिवालयमा निमित्त सहसंयोजकको जिम्मेवारी सम्हाल्नेछन्।
कार्यरथी विभागबाट उपरथी पदमबहादुर बुढा उत्तर पश्चिम पृतना हेडक्वार्टरमा सरुवा भई निमित्त पृतनापतिको जिम्मेवारीमा खटिएका छन्। त्यस्तै, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयबाट उपरथी पवन खत्री सुदूरपश्चिम पृतना हेडक्वार्टरमा सरुवा भएका छन्।
यसैगरी, सैनिक कमाण्ड तथा स्टाफ कलेजमा कार्यरत उपरथी शक्तिजंग बस्नेत को पूर्वी पृतना हेडक्वार्टर, इटहरीमा सरुवा भएको छ। उनले त्यहाँ निमित्त पृतनापतिको जिम्मेवारी सम्हाल्नेछन्।
सहायक रथीतर्फ सैनिक सामग्री प्राप्ति निर्देशनालयमा कार्यरत द्रव्यराम भण्डारी लाई उपत्यका पृतना हेडक्वार्टरमा सरुवा गरिएको छ।
विपद् व्यवस्थापन निर्देशनालयमा कार्यरत सहायक रथी रञ्जित थापा लाई कार्यरथी विभागमा सरुवा गरिएको छ। त्यस्तै, आपूर्ति तथा परिवहन निर्देशनालयमा कार्यरत सहायक रथी किरणराज श्रेष्ठ लाई सैनिक सामग्री प्राप्ति निर्देशनालयको निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ।
यस्तै, नम्बर १६ वाहिनी अड्डामा कार्यरत सहायक रथी चुलेन्द्रबहादुर थापा लाई सुदूरपश्चिम पृतना हेडक्वार्टरमा सरुवा गरिएको छ।
सरुवाको सूचीमा रहेका अर्का सहायक रथी सञ्जयकुमार रञ्जित राष्ट्रिय सेवा दलबाट आपूर्ति तथा परिवहन निर्देशनालयमा सरुवा भएका छन्।






