काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकलाई निर्वाचन प्रक्रियामा सहभागी गराउने विषयमा तीन फरक मतदान प्रणालीलाई सम्भावित विकल्पका रूपमा अघि सारिएको छ।
निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले संसदीय सुनुवाइ समितिमा प्रस्तुत गरेको कार्ययोजनामा विदेशस्थित नेपाली मतदाताको मतदान अधिकार सुनिश्चित गर्न अन्तर्राष्ट्रिय अभ्यासमा रहेका विभिन्न प्रणालीलाई नेपालले अपनाउन सक्ने धारणा राखेका हुन्।
विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउने सम्बन्धमा गरिएको अध्ययनले मतदान केन्द्रमा उपस्थित भएर मतदान गर्ने प्रणाली, हुलाकमार्फत मतदान गर्ने व्यवस्था र प्रतिनिधिमूलक मतदान प्रणालीलाई सम्भावित विकल्पका रूपमा उल्लेख गरेको छ।
अध्ययनअनुसार मतदान केन्द्रमा आधारित प्रणालीमा विदेशमा रहेका नेपाली नागरिकले सम्बन्धित देशमा रहेको नेपाली दूतावास वा तोकिएको मतदान स्थलमा पुगेर प्रत्यक्ष मतदान गर्न सक्नेछन्। यो विधि धेरै मुलुकमा प्रयोग हुँदै आएको भए पनि व्यवस्थापन, जनशक्ति परिचालन र लागतका कारण चुनौतीपूर्ण मानिन्छ।
त्यस्तै, हुलाक मतदान प्रणालीअन्तर्गत मतदाताको विदेशस्थित ठेगानामा मतपत्र पठाउने र मतदानपछि हुलाक सेवामार्फत फिर्ता पठाउने व्यवस्था हुन्छ। विभिन्न मुलुकमा रहेका नागरिकलाई समेट्न यो प्रणाली उपयोगी हुन सक्ने भए पनि हुलाक सेवाको विश्वसनीयता, मतपत्र आदान–प्रदानको समय र सुरक्षा व्यवस्थापन महत्वपूर्ण पक्ष हुने अध्ययनले देखाएको छ।
अर्को विकल्पका रूपमा प्रतिनिधिमूलक मतदान प्रणालीलाई पनि अघि सारिएको छ। यस व्यवस्थामा विदेशमा रहेका मतदाताले आफ्नो तर्फबाट मतदान गर्न एक जना प्रतिनिधि तोक्न सक्ने व्यवस्था हुन्छ।
अध्ययनले नेपालको भौगोलिक अवस्था, उपलब्ध स्रोत–साधन, प्रविधि, प्रशासनिक क्षमता र कानुनी व्यवस्थालाई ध्यानमा राखेर उपयुक्त प्रणाली छनोट गर्नुपर्ने सुझाव दिएको छ।
विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार कार्यान्वयनका लागि आवश्यक कानुनी तथा संस्थागत पूर्वाधार तयार गर्नुपर्ने विषय पनि अध्ययनको मुख्य निष्कर्षमा समेटिएको छ।






