काठमाडौँ । सामाजिक सद्भाव, शान्ति र नागरिकबीच विश्वासको वातावरण सुदृढ बनाउन प्रमुख नौ राजनीतिक दलले प्रदेशदेखि स्थानीय तहसम्म सर्वदलीय तथा सर्वपक्षीय संवादलाई अघि बढाउने निर्णय गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले केन्द्रमा भएका पहललाई तल्लो तहसम्म विस्तार गर्ने निष्कर्ष निकाल्दै प्रदेश, जिल्ला र स्थानीय तहमा सर्वदलीय संयन्त्रमार्फत बैठक आयोजना गर्ने निर्णय गरेको हो।
बैठकपछि जारी संयुक्त वक्तव्यमा समाजमा शान्ति र सद्भाव कायम राख्न केन्द्रीय तहको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै स्थानीय स्तरसम्म संवाद र सहकार्यलाई प्रभावकारी बनाउन दलका सबै तहका संगठनलाई आवश्यक निर्देशन दिने निर्णय गरिएको जनाइएको छ। नागरिकबीच आपसी विश्वास अभिवृद्धि गर्न सर्वदलीय र सर्वपक्षीय पहललाई स्थानीय तहसम्म पुर्याइने पनि वक्तव्यमा उल्लेख छ।
संयुक्त अपिलमा धार्मिक अगुवा, नागरिक समाज तथा स्थानीय प्रशासनसँग समन्वय गर्दै समुदाय स्तरमा शान्ति कायम राख्ने अभियानलाई सक्रिय रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ। दलहरूले सामाजिक सद्भाव संरक्षणका लागि स्थानीय तहमा सबै सरोकारवालाबीच सहकार्य र निरन्तर संवादलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।’






